Attention

Change the world to do start from small work but never hurt to heart so save the GREEN.

Sunday, October 3, 2010

विवाहपूर्व यौनसम्पर्क गर्नेको संख्या शतप्रतिशत वृद्धि


विवाहपूर्व यौनसम्पर्क गर्नेको संख्या शतप्रतिशत वृद्धि

काठमाडौं/ विवाह-बन्धनमा बाँधिनुपूर्व नै यौनसम्पर्क गर्ने नेपाली युवा-युवतीको संख्या बढ्दै गएको एक अध्ययनले देखाएको छ । सुनौलो परिवार नेपालले गरेको पछिल्लो अध्ययनअनुसार विवाहअघि यौनसम्पर्क गर्ने युवायुवतीको संख्या शत् प्रतिशत बढेको छ ।

सो संस्थाले मकवानपुर, चितवन, नवलपरासी, पर्सा, झापा, ललितपुर र बाँकेका एक हजार अविवाहित युवा-युवतीमा अध्ययन गरेको थियो । 'यो सन् २००९ को सबैभन्दा पछिल्लो अध्ययन हो, अध्ययनमा अघिल्लो तुलनामा शत् प्रतिशत वृद्धि भएको पाइयो,' संस्थाका सहनिर्देशक प्रवीण शाक्यले नयाँ पत्रिकासँग भने ।

अध्ययनमा १० दशमलव दुई प्रतिशत सहभागीले विवाहपूर्व नै यौनसम्पर्क राखेको बताएका थिए । यसअघि गरिएको अध्ययनमा पाँच दशमलव चार प्रतिशत युवा-युवतीले मात्र विवाहअघि यौनसम्पर्क गरेका बताएका थिए ।

विवाहपूर्व यौनसम्पर्क गर्नेको संख्या वृद्धिसँगै गर्भपतन गराउने युवतीको संख्या पनि बढेको सो संस्थाले जनाएको छ । आर्थिक वर्ष ०६५/६६ मा सुनौलो परिवार नेपालद्वारा सञ्चालित मेरिस्टोप्स सेन्टरबाट ७४ हजार ६ सय ६० जनाले गर्भपतन सेवा लिएका छन् । गत वर्ष देशका विभिन्न स्थानमा रहेका मेरिस्टोप्स सेन्टरबाट ५४ हजार आठ सय ८५ जनाले गर्भपतन सेवा लिएको सुनौलो परिवार नेपालले जनाएको छ ।

अनुसन्धानले गर्भपतन सेवाबारे सर्वसाधारणमा जानकारी बढेको देखाएको छ । अध्ययनमा सहभागीमध्ये ८७ प्रतिशतमा गर्भपतन सेवाबारे जानकारी रहेको पाइएको छ । यसअघिको अध्ययनमा ८० प्रतिशत सहभागीले मात्र गर्भपतनबारे थाहा भएको बताएका थिए । तर, गर्भपतनले कानुनी मान्यता पाएकोबारे अझै पनि ६७ प्रतिशत मात्र जानकार छन् । यसअघिको अध्ययनमा ४८ प्रतिशत सहभागीले मात्र आफूहरूले गर्भपतन सेवाबारे सुनेको बताएका थिए ।

त्यस्तै अनुसन्धानले परिवार नियोजनको साधनबारेको जनचेतनामा पनि वृद्धि भएको देखाएको छ । विगतको अनुसन्धानमा कम्तीमा एउटा परिवार नियोजनको साधनबारे जानकारी भएकाहरू ९० प्रतिशत थिए । तर, पछिल्लो अध्ययनले करिब ९८ प्रतिशतमा परिवार नियोजनका साधनबारे जानकारी रहेको देखिएको छ ।

परिवार नियोजनका साधनमा सबैभन्दा बढी कन्डमबारे सुनेको सहभागीले बताएका छन् । त्यसपछि क्रमशः डिपो र पिल्सबारे सुनेको उनीहरूले बताएका छन् । ९६ प्रतिशत सहभागीले कन्डमबारे जानकारी रहेको बताएका छन् ।

0 comments:

Post a Comment